दार्चुलामा जिप दुर्घटना हुँदा दुई जना सरकारी कर्मचारीको मृत्यु, चार जना घाइते
दार्चुला। दार्चुलामा जीप दुर्घटना हुँदा दुई जना सरकारी कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ ।
मंगलबार बिहान शैल्यशिखर नगरपालिका-४ ओसिलको देखालामा ओसिलबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १६४१ नम्बरको जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब–इन्जिनियर मनिषा पाल र सोही कार्यालयका कर्मचारी भरत तितरोको घटनास्थलमै मृत्यु भएको दार्चुलाका प्रहरी प्रमुख गौरब महतले जानकारी दिए ।
शैल्यशिखर नगरपालिका-४ ओसिलमा योजना अनुगमनका लागि गएको उक्त जिप मंगलबार बिहान करिब ९ बजेतिर दुर्घटनामा परेको थियो ।
यसैगरी दुर्घटनामा परी चार जना घाइते पनि भएका छन् । घाइते हुनेमा शैल्यशिखर नगरपालिका-४ का अकबर महर, सोही स्थानका गाडीधनी विक्रम महर, चालक प्रकाश ठगुन्ना तथा मालिकार्जुन गाउँपालिका-५ डाडाकोटका मिनबहादुर पाल रहेका छन्।
घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय दार्चुला तथा इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार
















