अमेरिकी विदेशमन्त्रीले भने–युद्ध अन्त्यका लागि इरानसँग वार्ता जारी छ



काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको युद्ध अन्त्य हुने चरणमा रहेको बताएका छन् । अमेरिका इरानसँग वार्तामा रहेको जानकारी गराउँदै उनले युद्ध अन्त्य हुने लाइनमा अघि बढिरहेको बताएका हुन् ।

उनले फक्स न्युजसँग भनेका छन्–‘वार्ता जारी छ। प्रत्यक्ष भेट जुनसुकै बेला हुन सक्छ। हामी त्यसका लागि सधैँ तयार रहनेछौँ।’ तर राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले झुटा वा ढोँगी वार्ता गरेर समय बर्बाद मात्र नगरोस् भन्ने चाहेको उनले बताए।

युद्ध अन्त्य गर्ने सन्दर्भमा रुबियोले भनेका छन्–‘म समयसीमा तोक्न चाहन्नँ, तर फिनिस लाइन देखिँदै छ।’

उनले नेटोको आलोचना पनि गरे। उनले भने–‘अमेरिकाले केही समयदेखि देशको सेवा गर्दै आएको यो गठबन्धन अझै काम गरिरहेको छ कि छैन भनेर जाँच गर्नुपर्ने हुन सक्छ।’

बीबीसीका अनुसार उनले भनेका छन्–‘मेरो एउटै लक्ष्य थियो– इरानले कुनै हालतमा पनि आणविक हतियार हासिल गर्न नसकोस्, त्यो लक्ष्य प्राप्त भइसकेको छ। हामी इरानमा हाम्रो कामलाई अन्तिम रूप दिइरहेका छौँ। सायद दुई हप्ताभित्र वा काम पूरा हुन केही दिन बढी लाग्न सक्छ, त्यसपछि अमेरिका इरानबाट बाहिरिनेछ।’

साथै ट्रम्पले इरानका सबै कुरा ध्वस्त पार्न चाहेको उल्लेख गर्दै यसभन्दा पहिले सम्झौता पनि हुन सक्ने बताए।

अमेरिकामा बढ्दो ग्यासको मूल्य र त्यसलाई घटाउने उनको योजनाबारे एक सञ्चारकर्मीले गरेको पश्नको जवाफ दिंदै उनले भने–‘यसका लागि हामी इरानबाट बाहिर निस्कनु हो र हामी त्यो चाँडै गर्नेछौँ। हामी त्यहाँबाट चाँडै बाहिर निस्कनेछौँ।’

यसअघि अमेरिकाका राष्ट्रपति ट्रम्पले पनि ‘दुई वा तीन हप्ता’भित्र अमेरिका इरान युद्धबाट बाहिरिने संकेत गरेका थिए।

राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौता भए पनि नभए पनि अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र त्यहाँबाट बाहिरिने घोषणा गरिसकेका छन्।

यता, इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पनि केही सर्त पूरा भएमा अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न आफूहरू तयार रहेको बताएका छन्।

इरानको सरकारी सञ्चारमाध्यमले राष्ट्रपति पेजेस्कियानले युरोपेली परिषद्का अध्यक्षसँगको फोन वार्तामा उक्त अभिव्यक्ति दिएको उल्लेख गरेको छ।

त्यहाँ भनिएको छ–‘युद्ध अन्त्य गर्ने पेजेस्कियानका इच्छासँगै धेरै सर्त पनि छन्, खासगरी भविष्यमा द्वन्द्व पुनः सुरु नहुने ग्यारेन्टी।’

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा हवाई हमला गरेयता युद्ध जारी छ। बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार तथा अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गरेका कारण एक महिनाभन्दा बढी समयदेखि मध्यपूर्व द्वन्द्वमय बनेको छ।

जसमा परी अहिलेसम्म मारिएकाको संख्या ४ हजार ५०० नाघिसकेको छ। मारिएका मानिसमा सबैभन्दा बढी इरानका छन्।

अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरानका अनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म इरानमा ३ हजार ४ सय ९२ जना मारिइसकेका छन्। जसमा १ हजार ५ सय ७४ जना सर्वसाधारण नागरिक छन् भने कम्तीमा २ सय ३६ जना बालबालिका छन्।

इजरायली एम्बुलेन्स सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार इजरायलमा मिसाइल आक्रमणमा परी अहिलेसम्म १९ जना मारिएका छन्। साथै लेबननमा नौ जना इजरायली सैनिक मारिएको इजरायली सेनाले जनाएको छ।

लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार फेब्रुअरी २८ देखि अहिलेसम्म लेबननमा १ हजार २ सय ४७ जना मारिएका छन्, जसमा १२४ जना बालबालिका छन्।

यता, खाडी देशहरूमा भने हालसम्म कम्तीमा २४ जना मारिएका छन् । जसमध्ये धेरैजसो सुरक्षा बलका सदस्य वा विदेशी कामदार छन्।

यीमध्ये ११ जना संयुक्त अरब इमिरेट्स (यूएई) मा र ७ जना कुवेतमा मारिएका हुन्। अनि ओमान, साउदी अरेबिया र बहराइनमा दुई(दुई जना मारिएको पुष्टि भएको छ।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्