इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामी चेतावनी जारी
काठमाडौं । इन्डोनेसियामा बिहीबार बिहानै शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार समुद्र क्षेत्रमा स्थानीय समयअनुसार बिहान ६ः४८ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु टर्नेट सहरबाट करिब १२० किलोमिटर टाढा रहेको जनाइएको छ । टर्नेट सहर करिब दुई लाखभन्दा बढी जनसंख्या भएको घना बस्ती भएको टापु हो।
शक्तिशाली कम्पनपछि प्रशान्त क्षेत्रीय सुनामी चेतावनी प्रणालीले सतर्कता अपनाउन आग्रह गर्दै सुनामीको जोखिम रहेको जनाएको छ ।
बीबीसीका अनुसार भूकम्पको केन्द्रविन्दुबाट करिब एक हजार किलोमिटरको दायराभित्र पर्ने इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रमा समुद्री छालहरू पुग्ने सम्भावना रहेको छ ।
हालसम्म मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन । स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्न र सतर्क रहन अपिल गरेको छ ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार
















