ट्रम्पको धम्कीपछि इरानले भन्यो – अमेरिकाका लागि नर्कको ढोका खुल्नेछ
एजेन्सी । अमेरिकालाई इरानको ‘खातम अल-अनबिया सेन्ट्रल हेडक्वार्टर’ले कडा चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको पछिल्लो धम्कीपछि इरानले अमेरिकी हमलाको स्थितिमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको हो ।
शनिबार ह्वाइट हाउसबाट बोल्दै राष्ट्रपति ट्रम्पले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्नका लागि १० दिनको समय दिएको स्मरण गराएका थिए ।
ट्रम्पको धम्की सार्वजनिक भएलगत्तै इरानको ‘खातम अल’अनबिया सेन्ट्रल हेडक्वार्टर’ले कडा प्रतिक्रिया दिएको छ। बीबीसी फारसी सेवाका अनुसार मुख्यालयका कमाण्डर मेजर जनरल अली अब्दुल्लाहीले अमेरिकी हमला भएमा त्यसको परिणाम भयानक हुने चेतावनी दिएका छन्।
जनरल अब्दुल्लाहीले चेतावनी दिँदै भनेका छन्, ‘यदि अमेरिकाले हमला गरेमा हामी उसको ‘आतंकवादी सेना’ र जायोनी शासन (इजरायल) सँग सम्बन्धित सबै पूर्वाधारहरूमा निरन्तर प्रहार गर्नेछौँ।’
उनले अगाडि थपे, ‘हामीले जे भनेका छौँ, त्यो गरेर देखाएका छौँ। यो सन्देशको सीधा अर्थ हो-तिम्रा लागि अब नर्कको ढोका खुल्नेछ।’
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार
















