दुई साताको युद्धविराम सहमतिसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट, नेपालमा घट्छ कि घट्दैन ?



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साता युद्धविरामको सहमति गरेको समाचार सार्वजनिक भएलगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ।

ट्रम्पको स्ट्रेट अफ होर्मुज तत्काल र सुरक्षित रूपमा खोल्ने सर्तमा इरान युद्धविराम गर्न राजी भएसँगै बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको हो।

बुधबार अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब २० डलरले घटेको छ।

मे महिनाका लागि डेलिभरी हुने डब्लुटीआई क्रुडको मूल्य १८.१० डलर अर्थात् १६.०२ प्रतिशतले घटेर प्रति ब्यारेल ९४.८५ डलर कायम भएको छ। कारोबारका क्रममा यो मूल्य ९१.०५ डलरसम्म झरेको थियो, जुन मार्च २६ पछिको सबैभन्दा न्यून स्तर हो।

गएको फेब्रअरी २८ तारिख अघि तेलको भाउ लगभग ७२ प्रति ब्यारेलमा कारोबार भइरहेको थियो । तर अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि भाउ निरन्तर उतारचढाव भैरहेको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य घटे पनि नेपालमा भने नघट्ने निगमले संकेत गरेको छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले प्राविधिक र वित्तीय कारण तेलको मूल्य नघट्ने बताएका छन् ।

प्रवक्ता ठाकुरले भने- ‘कच्चा तेलसँग सिधै हाम्रो लिंक हुँदैन अहिले कच्चा तेल १०० डलर आसपास हुँदा पनि अन्तर्राष्ट्रिय बजारमा डिजेल जस्तो प्रशोधित तेलको मूल्य ३०० डलर पुगेको छ । सामान्य अवस्थामा यो अन्तर २०–२५ डलर मात्र हुन्थ्यो, तर अहिले २०० देखि २५० डलरसम्मको ग्याप छ । त्यसैले कच्चा तेलको मूल्य घट्दैमा हाम्रो खरिद दर तुरुन्तै घट्दैन ।’

निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त हुने नयाँ मूल्य सूचीको प्रतीक्षा गरिरहेको छ । अब आउने नयाँ मूल्यले नेपालमा इन्धनको भाउ कता जान्छ भन्ने निर्धारण गर्नेछ ।

अमेरिका र इसराइले फेब्रुअरी २८ मा इरानमा संयुक्त हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेको थियो। खामेनी मारिएपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबननबाट इसराइलमा हवाई हमला गरिरहेको छ।

एकातिर विश्वका सबैभन्दा महत्वपूर्ण तेल परिवहन मार्गहरूमध्ये एक मानिने दक्षिण इरानको तटछेउ अवस्थितमा स्ट्रेट अफ होर्मुजबाट हुने विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति अझै ठप्प रहँदा विश्वव्यापी चिन्तन बढेको छ।

म्याक्वेरी जस्ता ठूला वित्तीय संस्थाहरूले स्ट्रेट अफ होर्मुज अप्रिलको अन्त्यसम्म नखुलेमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन् ।

यसअघि उनले इरानले जलमार्ग नखोलेमा त्यहाँको नागरिक पूर्वाधारमाथि भीषण आक्रमण गर्ने र ‘आज राति एउटा पूरै सभ्यता समाप्त हुने’ चेतावनी दिएका थिए।

तर बुधबार पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र सेना प्रमुख असिम मुनिरको अनुरोधमा युद्धविराम गर्ने निर्णय गरिएको हो।

इरानका विदेशमन्त्री अब्बास अराघाचीले पनि बुधबार एक विज्ञप्ति जारी गर्दै यदि इरानमाथिका आक्रमणहरू रोकिएमा आफूहरूले पनि हमला बन्द गर्ने स्पष्ट पारेका छन्। उनले इरानी सशस्त्र बलको समन्वयमा दुई हप्ताका लागि स्ट्रेट अफ हर्मुजबाट सुरक्षित आवतजावत सम्भव हुने बताएका छन्।

यो प्रारम्भिक कदमले स्थायी शान्तिको बाटो खोल्ने आशा जगाएपनि युद्धलाई स्थायी अन्त्यतर्फ लैजान्छ वा पुनः युद्धकै स्थितिमा फर्काउँछ भन्ने कुरा अबको दुई हप्ताकोे समयले तय गर्नेछ।

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्