पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा



काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी रमेश थापाका अनुसार लेखकलाई हाजिर जमानीमा गरिएको हो ।

नेपाली कांग्रेसका नेता समेत रहेका लेखकलाई थुनामुक्त गरि केहीबेरअघि परिवारको जिम्मा लगाइएको छ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अघि केहीबेरअघि रिहा गरिएको थियो ।

ओली र लेखकलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको भोलिपल्ट चैत १४ गते बिहान झिसमिसेमै उनीहरूकै निवासबाट पक्राउ गरिएको थियो ।

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएको र अर्बौं रुपैयाँको क्षति भएको हुँदा त्यसको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक हुनुपर्ने आरोप उनीहरूमाथि छ ।

सोहि अनुसार पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले तयार पारेको प्रतिवेदनमा उनीहरूलाई १०–१० वर्षसम्मको सजाय हुन सक्नेगरी कारबाहीको सिफारिस गरिएकाले त्यसैका आधारमा आधारमा ओली र लेखकलाई पक्राउ गरिएको थियो । पक्राउपछि ओली एक दिन पनि प्रहरी कार्यालयको हिरासतमा बसेनन् । उपचारका नाममा उनलाई शिक्षण अस्पताल महाराजगन्जमा राखिएको थियो । लेखकलाई भने प्रहरीको महाराजगन्जस्थित २ नम्बर गणमा राखिएको थियो ।

पक्राउपछि तीन पटक गरी १२ दिन म्याद थप गरिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको सोमबारको संयुक्त इजलासले ओली र लेखकलाई सशर्त थुनामुक्तको आदेश दिएको थियो ।

पछिल्लो पटक थप गरिएको पाँच दिनभित्र ओली–लेखकमाथि मुद्दा अभियोजन नभए उनीहरूलाई हिरासतमुक्त गर्न सर्वोच्चले परमादेश दिएको थियो ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्