३३ अर्बका मेगा प्रोजेक्टले फेरिँदै पोखराको मुहारः अन्तर्राष्ट्रिय साझेदारीमा ठूला पूर्वाधार
पोखरा चैत २९। पोखरा महानगरपालिकामा अहिले ३३ अर्ब रुपैयाँभन्दा बढीका ठूला र गौरवका आयोजनाहरू सञ्चालनमा रहेका छन्।
मेयर धनराज आचार्यले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको समन्वयमा पोखरामा ऐतिहासिक विकासका कामहरू शुरु गरिएको बताए। प्रमुख आयोजनाहरूमध्ये कोरियन सरकारको सवा २ अर्ब सहयोगमा बन्न लागेको अत्याधुनिक प्रदर्शनी केन्द्र एक हो। यो भवनको डिजाइन पोखराको पहिचान झल्किने गरी ‘घोप्टिएको डुङ्गा’ आकारको हुने मेयर आचार्यको भनाइ छ।
जुन आफैँमा एउटा पर्यटकीय आकर्षण बन्नेछ। यसले झडै ३ हजार मानिसलाई रोजगारी दिने लक्ष्य राखिएको उनले बताए। त्यस्तै, कोइकाको झन्डै २ अर्ब सहयोगमा अत्याधुनिक ‘जलन केन्द्र’ अस्पताल निर्माण हुँदैछ। लेखनाथको पुरानो भवन भएको ठाउँमा एशीयाली विकास बैंकको सहयोगमा विपद् व्यवस्थापन केन्द्रको टेण्डर प्रक्रिया शुरु भइसकेको छ। पोखराका सबै तालहरूलाई जोड्ने गरी साइकल लेन निर्माण गर्ने एडीबीकै प्रोजेक्ट अघि बढेको छ भने शान्ति वाटिकामा बोटानिकल गार्डेन बनिरहेको मेयर आचार्यले बताए।
पोखराको पुरानो बजारलाई हनुमानढोका वा बन्दीपुर जस्तै ‘हेरिटेज साइट’को रूपमा विकास गर्ने गुरुयोजना तयार भएको छ। पञ्चासे क्षेत्रमा सवा अर्बको रिसर्च सेन्टर र टु–लेन स्टान्डर्डको बाटो बन्दैछ। ‘उज्यालो पोखरा’ कार्यक्रमअन्तर्गत शहरका मुख्य चोकहरूमा हाईमास्ट बत्तीहरू जडान गरिएका छन् भने मुख्य बजारको बिजुलीको तारलाई ‘अण्डरग्राउण्ड’ गर्ने काम तिब्र गतिमा अघि बढेको छ।
विश्व बैंकको सहयोगमा तालचोक–बेगनास, सिसाघाट र कोत्रे–विरौटा सडकहरूको स्तरोन्नति भइरहेको छ, जसले पोखरालाई एउटा आधुनिक र सुरक्षित शहरको रूपमा स्थापित गर्नेछ।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार
















