अम्पायरबारे टिप्पणीपछि क्रिकेटर करण केसी विवादमा, क्यानले गर्यो कारबाही
काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडी करण केसीले सामाजिक सञ्जालमा अम्पायरबारे गरेको टिप्पणीलाई लिएर विवाद उत्पन्न भएको छ ।
खेलाडी र अम्पायरबीच हातपात भएमा के हुन्छ भन्ने विषयमा गरिएको अभिव्यक्तिलाई लिएर आलोचना बढेपछि उनले सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् ।
केसीले आफ्नो भनाइलाई मजाकका रूपमा गरिएको जिज्ञासा भएको स्पष्ट पार्दै सामाजिक सञ्जालमा लेखेका छन्- ‘यदि खेलाडी र अम्पायरबीच हातपात हुँदा के हुन्छ होला भनेर मजाकका रूपमा लिएको एउटा जिज्ञासा व्यक्त गरेको थिएँ । क्रिकेटमा अम्पायर, कोच र खेलाडी सबै एउटै परिवारजस्तो हुने भएकाले उक्त मजाकले कसैलाई ठेस पुगेको भए क्षमायाचना गर्दछु ।’
करणले हिजो फेसबुकमा अम्पायरहरूप्रति धम्कीयुक्त स्टाटस लेखेका थिए । कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ रु भन्ने उनको प्रश्न थियो । करणको उक्त स्टाटसलगत्तै क्रिकेट अम्पायर तथा स्कोरर संघले आकस्मिक बैठक बसेर विज्ञप्ति नै जारी गरी आपत्ति जनाएको थियो ।
तर, अम्पायर्स संघका अध्यक्ष मोहम्मद सफिकले क्षमायाचनाले मात्रै नपुग्ने बताएका छन् ।
यता विवादित स्टाटसलाई लिएर नेपाल क्रिकेट संघ (क्यान)ले कारबाही स्वरुप एक म्याच प्रतिबन्ध तथा म्याच फी काट्ने निर्णय लिएको छ ।
प्रतिवन्धका कारण केसीले आजको नेपाल पुलिस र मधेसबीचको म्याच खेल्न पाएनन् । करणले पुलिस टीमबाट खेल्दै आएका छन् ।
करणको अभिव्यक्ति खेल भावना अनुरूप नभएको क्यानको ठहर छ । प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उनलाई प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको एक खेलमा प्रतिबन्ध लगाइएको साथै आजको म्याचको म्याच फी पनि काटिएको छ ।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार
















