राष्ट्रिय चुनौती सामना गर्न एकताबद्ध हुन गगन थापाको आह्वान
काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय चुनौतीहरूको सामना गर्न सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्।
नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै जारी सन्देशमा उनले ऐतिहासिक उपलब्धिहरूको संरक्षण र सुदृढीकरणका लागि दृढ संकल्प आवश्यक रहेको उल्लेख गरेका छन्। नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूलाई जोगाउँदै भविष्यका चुनौती सामना गर्न एकता अपरिहार्य रहेको उनले बताए।
थापाले नवीन अवसरहरूको सदुपयोग गर्दै सुशासन र आर्थिक विकासतर्फ दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिएका छन्। साथै, शान्त, सभ्य र समृद्ध राष्ट्र निर्माणका लागि राजनीतिक दल तथा सम्बन्धित निकायहरूले दलगत स्वार्थभन्दा माथि उठेर सहकार्य गर्नुपर्ने उनको भनाइ छ।
मुलुक, जनताको हित र लोकतन्त्रको सुदृढीकरणका लागि एकता र सहकार्यको विकल्प नभएको उल्लेख गर्दै उनले नयाँ वर्षले आपसी सदभाव, भाइचारा र सहकार्यलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
सन्देशको अन्त्यमा उनले नयाँ वर्षले सबै नेपालीमा आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धितर्फ अघि बढ्न नयाँ ऊर्जा र उत्साह प्रदान गरोस् भन्ने कामना गरेका छन्।
प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार
















