रास्वपाले टुंग्यायो संसदीय समितिका सभापतिको नाम, कुनमा को परे ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिका सभापतिको टुंगो लगाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले समितिका सभापतिहरुको टुंगो लगाएको हो ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मनिष झा, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रहबर अन्सारी रहनेछन् ।

कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा सुशान्त वैदिक रहनेछन् । संसदीय सुनुवाइ समिति हालसम्म टुंगो लाग्न सकेको छैन ।

सार्वजनिक लेखा समितिको सभापति भने विपक्षी दललाई दिने प्रचलन रहेको छ । जसका लागि साझा उम्मेदवार उठाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी लगायत तिन दलका नेताहरू छलफलमा जुटेका छन्।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधि सभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।

समितिको सभापतिका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । शुक्रबार समितिको सभापतिका लागि नेतृत्व चयन हुनेछ ।

राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ ।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्