कांग्रेस आधिकारिकता विवादमा सुनुवाइ आजपनि, आजै आदेश आउनसक्ने
काठमाडौं, ४ वैशाख। नेपाली कांग्रेसको आधिकारिकता विवादको रिटमा सर्वोच्च अदालतमा आजपनि सुनुवाइ निरन्तर हुने भएको छ। हिजो न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भएको थियो। सुनुवाइ नसकिएका कारण ‘हेर्दाहैर्दै’मा राखिएको थिए।
रिट निवेदक कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका थिए।
यहीबीचमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा १५औँ महाधिवेशनको कार्यतालिका ल्याइएको भन्दै खड्काले पूरक निवेदन समेत दिएका थिए।
देउवा पक्ष र आयोगकोतर्फबाट सरकारी वकिलको बहस सकिएको छ। शुक्रबार रिटमा विपक्षी बनाइएका कांग्रेस सभापति थापा र उपभापति विश्वप्रकाश शर्माका तर्फबाट प्रतिरक्षा हुनेछ। रिट निवेदकका कानुन व्यवसायीले जवाफी बहस सकाएपछि सम्भवतः आज नै आदेश आउने सम्भावना छ।
प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार
















