प्रतिपक्ष कमजोर बनेको भन्दै रक्षा बमले गरिन् गगनमाथि प्रश्न
काठमाडौँ, ६ वैशाख। जेनजी अभियन्ता रक्षा बमले नेपाली कांग्रेसका सभापति गगन थापाको मौनतामाथि गम्भीर प्रश्न उठाएकी छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले वर्तमान सरकारको कार्यशैली र त्यसमा प्रतिपक्षको भूमिका कमजोर देखिएको भन्दै गगनको खोजी गरेकी हुन् ।
अभियन्ता बमले झन्डै दुई तिहाइको सरकारले शक्तिको आडमा जनतामाथि दमन गरिरहेको आरोप लगाएकी छन् ।
पछिल्ला केही घटनाहरूलाई उद्धृत गर्दै उनले प्रहरीले एक महिलाको घाँटी निमोठ्दै गरेको भिडियो, डोजरले घर भत्काउँदा बच्चा च्यापेर रोइरहेकी आमाको तस्बिर र व्यापारीहरूमाथि भइरहेको लाठी प्रहारका घटनाले सर्वसाधारणलाई मर्माहत बनाएको उल्लेख गरेकी छन् ।
यस्ता गम्भीर मानवीय मुद्दाहरूमा पनि संसद्को दोस्रो ठूलो दलका सभापति थापा किन मौन रहेको भन्दै उनले प्रश्न गरेकी छन्।
‘तपाईंले भन्दै आएको सुध्रिएको कांग्रेस वा नवीन कांग्रेस भन्ने कुरा सत्ता हातमा हुँदा मात्र देखाउने योजना थियो र ? बमको प्रश्न छ । नेता जुनसुकै पक्षमा भए पनि अन्ततः जनताको पीडा र मुद्दा बोक्नुपर्नेमा उनले जोड दिएकी छन् ।
जनताको घाँटी निमोठ्ने छुट कसैलाई नभएको उल्लेख गर्दै उनले सरकारलाई इतिहास रच्ने म्यान्डेट प्राप्त भएको तर अहिलेका कार्यहरू इतिहासबाट खस्ने खालका भएको टिप्पणी गरेकी छन् ।
प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार
















