सबै पक्षलाई साथ लिएर १५ औँ महाधिवेशन तिर जान्छौँ: गगन थापा
विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन सफल बनाउन आफू निरन्तर नेताहरूसँग संवादमा रहेको बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले महाधिवेशनमा सबै पक्षलाई साथ लिएर अघि बढ्ने बताएका हुन् ।
उनले भने- ‘अहिलेको अवस्थालाई मध्यनजर गर्दै पार्टीभित्र व्यापक एकताको पहलको हामी गरिरहेका छौँ, हामी सबै मिलेर १५ औँ महाधिवेशन तिर जान्छौँ त्यसका लागि सबै साथीहरूसँग संवादमा छु।’
सभापति थापाले पार्टी एकताबद्ध भएर १५ औँ महाधिवेशनमा जाने विश्वास व्यक्त गरेका छन्।
साथै उनले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार वर्तमान सरकारलाई सुशासन कायम गर्न, संविधान कार्यान्वयन गर्न र जनतासँग सम्बन्धित विषयमा आवश्यक सहयोग गरिने स्पष्ट पारे ।
उनले थप भने- ‘हामी सरकारले गरेका कामहरू माथि प्रश्न उठाउँदै गर्दा पनि तथ्यमा आधारित भएर प्रश्न उठाउँछौँ। हामी कतिपय कुराहरूमा विकल्प सहित हाम्रो आफ्नो सुझावहरू दिन्छौँ।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार
















