अब सार्वजनिक बिदामा काम गरेपछि प्रहरीलाई ‘सट्टा बिदा’



तेह्रथुम । प्रहरी कर्मचारीहरूको बिदा व्यवस्थापनसम्बन्धी लामो समयदेखिको गुनासोलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय तेह्रथुमले “सट्टा बिदा” कार्यान्वयनमा ल्याएको छ ।

प्रहरी नियमावली, २०७१ मा रहेको व्यवस्थालाई व्यवहारमै लागू गर्दै सार्वजनिक बिदाको दिन ड्युटीमा खटिने प्रहरी कर्मचारीलाई अब “सट्टा तलबी बिदा” उपलब्ध गराउन थालिएको हो ।

प्रहरी संगठनभित्र आवश्यक परेको समयमा बिदा नपाउने, उपलब्ध बिदासमेत पूर्ण रूपमा उपयोग गर्न नपाइने र त्यसका कारण व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवन प्रभावित हुने समस्या लामो समयदेखि उठ्दै आएको थियो ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमले भने उक्त समस्यालाई गम्भीर रूपमा लिएर कानूनी व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ ।

प्रहरी नियमावली, २०७१ को परिच्छेद–८ अन्तर्गत नियम ८५ मा सार्वजनिक बिदाको दिन काम गर्ने प्रहरी कर्मचारीलाई एक पटकमा बढीमा सात दिनसम्म “सट्टा तलबी बिदा” दिन सकिने स्पष्ट व्यवस्था छ ।

सोही प्रावधानअनुसार लामो समयदेखि बिदा उपयोग गर्न नपाएका प्रहरी कर्मचारीलाई समेत अनिवार्य रूपमा बिदा उपयोग गर्न निर्देशन दिइएको छ ।

यस अभियानअन्तर्गत प्रहरी हवल्दार विशाल खड्का “सट्टा बिदा” उपयोग गर्ने पहिलो प्रहरी कर्मचारी बनेका छन् । हालसम्म जिल्लाभरबाट आठ जना प्रहरी कर्मचारीले उक्त सुविधा प्रयोग गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कर्मचारीहरूको मानसिक स्वास्थ्य सुदृढ बनाउने, पारिवारिक सम्बन्ध सन्तुलित राख्ने, सामाजिक उत्तरदायित्व निर्वाहमा सहजता ल्याउने तथा पेशागत मनोबल अभिवृद्धि गर्ने उद्देश्यसहित सुरु गरिएको यो अभ्यासलाई प्रहरी संगठनभित्र कर्मचारीमैत्री कार्यसंस्कृतिको सकारात्मक सुरुवातका रूपमा हेरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमले “व्यवस्थित बिदा, सुदृढ मनोबल र जिम्मेवार सेवा” भन्ने मान्यतालाई आत्मसात गर्दै प्रहरी कर्मचारीको हित, पेशागत अनुशासन तथा नागरिकप्रति उत्तरदायी सेवा प्रवाहमा निरन्तर प्रतिबद्ध रहने जनाएको छ ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्