अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो



अर्घाखाँची, २९ वैशाख। अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ दुर्गाफाँट कुडुलेमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

सन्धिखर्क–घुम्ती–तानसेन सडकखण्डअन्तर्गत कुरुलेफाँट नजिक भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको अर्घाखाँची अस्पतालमा उपचारका क्रममा र चालकको लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मृत्यु हुनेहरूमा पोखरा महानगरपालिका–१९ कास्कीकी ७८ वर्षीया राममाया बस्नेत, ७८ वर्षीया विन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका–५ की ५० वर्षीया कौशिला रेग्मी तथा बस चालक मोदी गाउँपालिका–५ कै ४५ वर्षीय रमेश जिसी रहेका छन् ।

दुर्घटनामा घाइते भएका मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा तथा भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । अर्घाखाँची अस्पतालमा प्रारम्भिक उपचारपछि केही घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेका अधिकांश यात्रु पर्वतको मोदी गाउँपालिकाका बासिन्दा हुन् । उनीहरू सुपा देउराली मन्दिरको दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परेका थिए ।

पर्वतबाट आएको ध१ख ५०४ नम्बरको बस दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानअनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ । बस सडकबाट करिब १०० मिटर तल जङ्गलमा खसेको थियो ।

घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य गरिएको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्