मलामी बोकेको ट्याक्टर दुर्घटना, ११ घाइते
स्याङ्जा। कालीगण्डकी गाउँपालिका –४ बनकसी रुद्रबेणी सडक खण्डमा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ।
दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।
मलामी गएर फर्कने क्रममा लुप्र ००१ त ०५७६ को टयाक्टर अनियन्त्रित भई सडकको नालामा पल्टिदा स्थानीय २१ बर्षीय अंकित राना, ४० बर्षीय मोहन घर्ती र ६२ बर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएको स्थानीयले बताएका छन्।
गम्भीर घाइते तीनै जनालाई मिसन अस्पताल पाल्पा लगिएको प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए। दुर्घटनामा स्थानीय आयुष दर्लामी, मनोज थापा, यम बहादुर बिक, शेखर थापा, मन घर्ती, दिपक राना र खेमबहादुर घर्तीको ढाड खुट्टा, हातमा चोट लागेको र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ।
सवारी चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान अगाडि बढाइएको अवस्थीले बताए।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार
















