निजामती कर्मचारीको स्वास्थ्य सेवा अब भरतपुर र नारायणी अस्पतालबाट पनि



काठमाडौँ, २४ जेठ निजामती कर्मचारीले पाउने स्वास्थ्यसम्बन्धी छुट तथा सहुलियत सेवा सोमबारदेखि चितवनको भरतपुर अस्पताल र पर्साको नारायणी अस्पतालबाट पनि उपलब्ध हुने भएको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सूचना जारी गर्दै निजामती कर्मचारी अस्पताल, काठमाडौँले प्रदान गर्दै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य उपचार सेवा प्रारम्भिक चरणमा भरतपुर अस्पताल र नारायणी अस्पतालमा विस्तार गरिएको जनाएको हो।

मन्त्रालयका अनुसार उक्त सेवा निजामती कर्मचारी अस्पतालबाट परिचयपत्र प्राप्त गरेका बहालवाला तथा अवकाशप्राप्त निजामती कर्मचारी र उनीहरूका आश्रित परिवारले तोकिएबमोजिम प्राप्त गर्न सक्नेछन्। सेवा लिन जाँदा निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।

निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य बनाउने उद्देश्यले प्रदेशस्तरमा सेवा विस्तार गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँगको समन्वयमा अन्य प्रदेशका सेवा प्रदायक अस्पतालहरूको समेत सूचीकरण भइसकेको जानकारी दिँदै आवश्यक तयारी पूरा भएपछि निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा देशभर विस्तार गरिने जनाएको छ।

यस व्यवस्थाबाट काठमाडौँ उपत्यकाबाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारलाई आफ्नै प्रदेशमा स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्