पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा



काठमाडौँ । हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

यसका कारण देशका विभिन्न भागमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको स्थिति बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशको पहाडी तथा हिमाली भू(भागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बादल लागेको छ। यसै प्रभावका कारण कोशी प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबारको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू(भागमा, अनि बाँकी हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने देखिन्छ। यस्तै, मधेस प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागमा आंशिक बदली हुनेछ भने बाँकी तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ।

महाशाखाका अनुसार सोमबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मौसम बिग्रेर मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ। बाँकी हिमाली र पहाडी भूभागका पनि एक(दुई स्थानमा यस्तो मौसमी गतिविधि हुन सक्ने देखिन्छ।

मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका केही स्थानहरूमा भने तापक्रम बढेर तातो दिन हुने सम्भावना रहेको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्