आफ्नै पूर्वपीएलाई विप्लवले निकाले पार्टीबाट
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले एक नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सङ्गठन अधिवेशन आयोजक समितिका सदस्य चन्द्र खड्का (असल)लाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएका छन् ।
असलले पार्टीको नीति र विधि विपरीत जेठ २४ गते ‘वाम–लोकतान्त्रिक युवा अभियान’ नामको छुट्टै मोर्चा निर्माण गरेको र स्वयंले पनि फोनमार्फत उक्त कुराको जानकारी गराएपछि उनलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।
महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, “केन्द्रीय समितिको बैठक देखिनै उहाँसँगको छलफलमा यस्तो काम गर्न सकिने तर पार्टीको जिम्मेवारीमा बसेर होइन, पार्टीबाट अलग भएर गर्न सकिने विषय मैले प्रस्ट राखेको थिएँ। राजनीतिक आन्दोलनमा कसरी र कुन दिशाबाट काम गर्ने भन्ने कुरा व्यक्तिको स्वतन्त्रता भए पनि त्यो पार्टीको मान्यताभित्र नपर्ने स्पष्ट छ।”
पार्टीले असलमाथि वैचारिक विचलन आएको आरोप समेत लगाएको छ। विज्ञप्तिमा मालेमावादी विचार, वैज्ञानिक समाजवाद र एकीकृत जनक्रान्तिको कार्यदिशा त्यागेर वा लुकाएर कुनै पनि मोर्चा वा आन्दोलन निर्माण गर्न नसकिने उल्लेख छ। असलले निर्माण गरेको नयाँ मोर्चामा विरोधाभास र यथास्थितिवादी प्रवृत्ति देखिएको भन्दै पार्टीले त्यसलाई स्वीकार गर्न नसकिने जनाएको छ।
विज्ञप्तिमा थप भनिएको छ, “सङ्गठन अधिवेशन आयोजक समिति सदस्य जस्तो जिम्मेवार तहमा बसेर पार्टीको विचार, नीति र कार्यक्रमलाई लागू गर्नुको सट्टा सामान्य वाम आन्दोलनतिर कुदेकाले कमरेड असललाई पार्टीको सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्यबाट मुक्त गरिएको जानकारी यसै वक्तव्यमार्फत गरिन्छ।”
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार
















