विज्ञान–प्रविधिको विकासलाई तीव्र गतिमा अघि बढाइन्छ : मन्त्री पुन



काठमाडौँ, २६ जेठ नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विज्ञान र प्रविधिको विकासलाई तीव्र गतिमा अघि बढाउने बताएका छन्।

मन्त्रालयमा आज सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले विज्ञान तथा प्रविधिको क्षेत्रमा द्रुत रूपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताए। “विज्ञान–प्रविधिको काम सुस्त गतिमा हुँदैन, रातदिन काम गरेर अघि बढ्नुपर्छ,” उनले भने।

मन्त्री पुनले आफू लामो समय मन्त्री पदमा नबस्ने पनि बताए। “सरकारको कार्यकाल पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष मात्रै यो जिम्मेवारीमा रहनेछु,” उनले भने।

उनले आफ्नो कार्यकालमा विज्ञान तथा प्रविधि क्षेत्रको आधार निर्माण गरी नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने लक्ष्य रहेको बताए।

मन्त्री पुनका अनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ भएकाले धेरै काम शून्यबाट सुरु गर्नुपर्ने अवस्था छ। “अन्य मन्त्रालयका आफ्नै स्थापित नियम र प्रणाली छन्। यो मन्त्रालय र यसको जिम्मेवारी नयाँ भएकाले आवश्यक नीति तथा नियम निर्माण गर्दै अघि बढ्नुपर्छ,” उनले बताए।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्