दरबार हत्याकाण्डलगायत पुराना चर्चित घटनाको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याइन्छ : गृहमन्त्री गुरुङ



काठमाडौँ, २६ जेठ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनलाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आज पदभार ग्रहण गर्दै मन्त्री गुरुङले आफ्नो कार्यकालमा पुराना तथा चर्चित घटनाका अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन आवश्यक पहल गर्ने बताएका हुन्।

पदभार ग्रहणका क्रममा उनले वि.सं. २०५८ मा भएको नेपाल दरबार हत्याकाण्ड सम्बन्धी फाइल पुनः अध्ययनका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन्। साथै, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सुदृढ र साधनस्रोत सम्पन्न बनाउने तथा हाल अनुसन्धानका क्रममा रहेका मुद्दाको छानबिनलाई तीव्रता दिने निर्णयमा हस्ताक्षर गरेका छन्।

गृहमन्त्री गुरुङले पछिल्लो समय ‘जेनजी’ आन्दोलनका क्रममा लागेका फौजदारी मुद्दा फिर्ता लिने विषयमा पनि आवश्यक अध्ययन अघि बढाइने बताएका छन्।

आफूमाथि लागेका आरोपबारे सञ्चारकर्मीको जिज्ञासामा उनले ती आरोप तथ्यहीन रहेको बताएका छन्। “ममाथि जस्तोसुकै आरोप लगाए पनि म थेग्न सक्छु, तर नेपाली चेलीबेटीमाथि अन्याय भएको भने सहन सक्दिनँ,” उनले भने।

सञ्चारमाध्यमको भूमिकाबारे टिप्पणी गर्दै मन्त्री गुरुङले मिडिया ट्रायलका कारण कुनै व्यक्ति दबाबमा परेर आत्महत्या गर्न बाध्य हुने अवस्था सिर्जना हुन नहुने बताएका छन्।

उनले गृह प्रशासनलाई प्रभावकारी, पारदर्शी र नागरिकको विश्वास जित्ने संस्थाका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्