दाङमा ट्यांकर र कार एकआपसमा ठोक्किँदा ५ जना घाइते
दाङ । दाङ दूध बोकेको ट्यांकर र कार एकआपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् ।
जिल्लाको लमही नगरपालिका-९ च्याउखोला नजिक पूर्व-पश्चिम महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ क ५४९८ नम्बरको ट्यांकर र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ९ च ४७९४ नम्बरको कार एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
घाइते हुनेमा दाङ शान्तिनगर गाउँपालिका-६ बस्ने २५ वर्षीय दिपेश भण्डारी, जिल्ला सुर्खेत गुर्बाकोट नगरपालिका-४ बस्ने २७ वर्षीया गीता बि.क.,सुर्खेतको गुर्बाकोट नागरपालिका-१ बस्ने ६१ वर्षीय मादले बि.क., दाङ तुलसीपुर उपमहानगरपालिका-९ बस्ने २५ वर्षीय कपिल के.सी. र जिल्ला बाँके कोहलपुर नगरपालिका-१० बस्ने ३२ वर्षीया कौसिला बि.क.रहेका छन् ।
घाइतेहरूलाई उपचारका लागि बाँकेतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्यांकर चालक कपिलवस्तुको बुद्ध भूमि नगरपालिका-९ बस्ने ३४ वर्षीय शिवनारायण थारुलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार
















