नेकपा एमाले छाडेर अन्य पार्टी प्रवेश गरेका ८ वडाध्यक्ष पदमुक्त (सूचीसहित)
काठमाडौं। नेकपा एमालेबाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका ८ जना वडाध्यक्षहरु पदमुक्त भएका छन् ।
निर्वाचन आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो ।
पदमुक्त हुनेमा ओखलढुंगा मोलुङ गाउँपालिका–१ का वडाध्यक्ष कमलबहादुर बानिया, ओखलढुंगा मोलुङ गाउँपालिका–६ का वडाध्यक्ष कमल तामाङ, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष सुरेशकुमार थापा र पाल्पाको माथागढी गाउँपालिका–१ का वडाध्यक्ष राजकुमार पन्थी छन् ।
यसैगरी ललितपुर बागमती गाउँपालिका–७ का वडाध्यक्ष होमप्रसाद बजगाईं, लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, मोरङ रंगेली नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार खनाल र घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मधुसूदन शर्मा रहेका छन् ।
राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम २ अनुसार उनीहरू पदमुक्त भएका हुन्। सो उपनियममा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको अवस्थामा पद रिक्त हुने प्रावधान छ ।
यसैगरी एमालेको केन्द्रीय सचिवालयको निर्णय र सिफारिसका आधारमा आयोगले मंगलवार नै ती जनप्रतिनिधिहरूको पद रिक्त गर्ने निर्णय गरिसकेको सूचनामा उल्लेख छ।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार
















