झडप भएपछि इजरायल जाने भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित
काठमाडौं । सरकारी तहबाट इजरायलमा कामका लागि जान लिइँदै आएको अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
सीआईआईएन इन्टरनेशनल क्वालिफिकेसन्सले त्रिपुरेश्वरमा सञ्चालन हुँदै आएको परीक्षा ‘अप्रत्यासित परिस्थिति’ सिर्जना भएको भन्दै अर्को सूचना जारी नहुन्जेलका लागि स्थगन गरिएको जानकारी गराएको हो ।
इजरायल रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन हुने अंग्रेजी भाषा परीक्षा सीआईआईएनले व्यवस्थापन गर्दै आएको थियो। कम्पनीले नयाँ मिति र समयबारे पछि जानकारी गराइने जनाएको छ।
परीक्षा व्यवस्थापनप्रति परीक्षार्थीहरूले लामो समयदेखि असन्तोष जनाउँदै आएका थिए। अनलाइन प्रणाली, व्यवस्थापन र प्राविधिक समस्याका कारण परीक्षा दिन कठिन भएको उनीहरूको गुनासो थियो।
परीक्षार्थीहरूका अनुसार भिडभाड, कमजोर इन्टरनेट स्पिड र सर्भर ढिलाइका कारण उत्तर सबमिट हुन नसक्ने समस्या दोहोरिँदै आएको थियो।
परीक्षार्थीहरूले आवश्यक कम्प्युटर, हेडसेटलगायत उपकरण पनि पर्याप्त रूपमा उपलब्ध नगराइएको आरोप लगाउँदै आएका छन्।
मंगलबार सोही समस्याविरुद्ध परीक्षार्थीहरू विरोधमा उत्रिएका थिए र त्यस क्रममा तनाव तथा झडपसमेत भएको थियो।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार
















