सुनको मूल्यमा भारी गिरावट, पुन: तीन लाख मुनि झर्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा १० हजार एक सय रुपैयाँले घटेर २ लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा ३ लाख एक हजार नौ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १८५ रुपैयाँले घटेर तोलामा ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी तोलामा ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।
सरकारले आगामी आर्थिक वर्षका लागि सुनचाँदीको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै यही जेठ १७ गते सुन एकैदिन २० हजार ५ सयले बढेको थियो ।
गत माघ १५ गते पनि एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको मूल्य तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपालमा सुनको मूल्यमा दैनिक उतारचढाव भइरहन्छ। पछिल्ला दिनहरूमा अमेरिकी डलरको मूल्य, विश्व आर्थिक अवस्थाका कारण सुनको भाउ कहिले बढ्ने त कहिले घट्ने क्रम जारी रहेको व्यवसायीहरू बताउँछन्।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार
















