हर्मोज जलसन्धि अमेरिकाको नियन्त्रणमा रहेको राष्ट्रपति ट्रम्पको दाबी



काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिनादेखि हर्मोज जलसन्धि भएर आवतजावत गर्ने २०० भन्दा बढी व्यापारिक जहाजहरूलाई अमेरिकी सेनाले गोप्य रूपमा सुरक्षा सहयोग प्रदान गरेको दाबी गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाको यस प्रयासका कारण १० करोड ब्यारेल भन्दा बढी कच्चा तेल खुला बजारसम्म पुग्न सफल भएको उल्लेख गर्नुभयो ।

उहाँले उक्त रणनीतिक जलमार्गमा इरानको नभई अमेरिकाको पूर्ण नियन्त्रण रहेको जिकिर समेत गर्नुभयो । इरानको सैन्य सामथ्र्य पराजित भएको र अर्थतन्त्र ध्वस्त भएको दाबी गर्दै ट्रम्पले भन्नुभयो, ‘इरानका लागि अब सबै समाप्त भइसकेको छ ।’

इरानसँगको वार्ता प्रक्रिया अवरुद्ध भएको र पछिल्ला दिनहरूमा इरानले अमेरिका तथा इस्रायलसँग प्रत्यक्ष सैन्य मुठभेड गरिरहेको सन्दर्भमा ट्रम्पको यस्तो कडा टिप्पणी आएको हो । गत सोमवार अमेरिकी सेनाको हेलिकप्टर खसालिएपछि ट्रम्पले इरानमाथि निरन्तर सैन्य प्रहार गर्न आदेश दिएका थिए । सो क्षेत्रमा तनाव चरम अवस्थामा पुगेका बेला राष्ट्रपति ट्रम्पको यो पछिल्लो भनाइ सार्वजनिक भएको हो ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्