साथीहरूलाई पार्टीबाट गलहत्याउने काम नहोस्: प्रकाशशरण महत
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीमा आफूहरुले भागबन्डाको कुरा नगरेको दाबी गरेका छन्।
बिहीबार बिहान बाँसबारीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महतले १५ औं महाधिवेशनको सुनिश्चितता र निष्पक्षता मात्रै आफूहरुले खोजेको बताए।
‘महाधिवेशनका लागि एउटा संयन्त्र बनाएर जाँदा महाधिवेशनको सुनिश्चितता र निष्पक्षता हुन्छ,’ उनले भने, ‘हामीलाई सदस्यता डिजिटल गराउने कुरामा समस्या छैन। पहिले सदस्यता नवीकरण गरेका साथीहरूलाई डिजिटल गर्ने कुरामा आपत्ति छैन। तर, नवीकरण गरिसकेका साथीहरूलाई गाडी छुटिसक्यो भनेर गाडीभित्रै रहेका साथीहरूलाई गलहत्याउने काम गर्नु हुँदैन।’
उनले सदस्यता डिजिटल गराउने कुरा केन्द्रको भएको बताए। ‘वर्षौँ पार्टीमा लागेका साथीहरूलाई गाडीबाट निकाल्ने काम नगरौं,’ उनले भने, ‘हामी पार्टी एकताका लागि तयार नभएको, अलगिन लागेको भन्ने कुरा गलत हो।’
महतले विशेष महाधिवेशनबाट आएका नेतृत्व छोटो समयका लागि भएको बताए। भ्रातृ संगठनमा नेतृत्व चयन र विधान संशोधन गर्ने कुरा उपयुक्त नहुने उनको धारणा थियो। ‘१५ औँ महाधिवेशनको निष्पक्षता र सुनिश्चितता हाम्रो मुख्य माग हो,’ उनले भने।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार
















