दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सामूहिक गोली प्रहारः १२ जनाको मृत्यु, ९ घाइते
दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो शहर जोहानेसबर्गस्थित एक सुकुम्बासी बस्तीमा भएको सामूहिक गोलीकाण्डमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
दक्षिण अफ्रिकी प्रहरी सेवाले बुधवार जारी गरेको विज्ञप्तिअनुसार क्लिभल्याण्डको जम्पर्स नामक सुकुम्बासी बस्तीमा मंगवबार स्थानीय समयअनुसार राति करिव ११ः१० बजे सो घटना भएको हो।
१० जनाभन्दा बढीको संख्यामा रहेका हतियारधारी समूहले बस्तीमा प्रवेश गरी विभिन्न स्थानमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए। आक्रमणपछि उनीहरू एउटा सवारी साधनमा चढेर फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलमा ८ पुरुष र ३ महिला गरी ११ जनाको मृत्यु भएको थियो भने अर्का एक पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। गोली लागेर घाइते भएका अन्य ९ जनालाई उपचारका लागि नजिकैका स्वास्थ्य संस्थाहरूमा भर्ना गरिएको छ।
उक्त घातक आक्रमणको उद्देश्य अहिलेसम्म खुल्न सकेको छैन। यस घटनामा संलग्न कोही पनि अहिलेसम्म पक्राउ परेका छैनन् । प्रहरीले घटनाको सम्बन्धमा गहन अनुसन्धान सुरु गरिएको जनाएको छ । दोषीहरूको खोजी कार्य तीव्र पारिएको उल्लेख गर्दै प्रहरीले स्थानीय बासिन्दाहरूलाई सतर्क रहन र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ ।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार
















