सभामुखमाथि पक्षपातको आरोप लगाउँदै हर्क साम्पाङले भने – संसदीय अभ्यासमा कलंक पोतियो
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदीय व्यवस्थाको अभ्यासमै गम्भीर त्रुटि भएको भन्दै कडा असन्तुष्टि जनाएका छन् ।
उनले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसदमा विभेदपूर्ण व्यवहार भएको आरोप लगाएका हुन् ।
साम्पाङले विज्ञप्ति जारी गर्दै सभामुख डोलप्रसाद अर्यालले आफू नेतृत्वको दललाई रोष्ट्रम प्रयोग गर्न नदिएको भन्दै त्यसलाई “पक्षपातपूर्ण व्यवहार” को संज्ञा दिएका छन्।
उनका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै त्यसलाई सच्याउन माग गरिएको अवस्थामा छलफल चलिरहँदा अन्य प्रतिपक्षी दलका नेताहरूलाई बोल्न दिइए पनि श्रम संस्कृति पार्टीलाई अवसर नदिएको आरोप छ।
साम्पाङले भनेका छन्, ‘यो देखेर सभामुखले पक्षपात गरेको, आफ्नो दलको सरकारको गल्ती ढाकछोप गर्न खोजेको र सरकारको पक्षमा उभिएको देखिन्छ। यसले संसदीय लोकतन्त्रको अभ्यासमा कलंक पोतिएको छ।’
उनले संसदको मर्यादा र गरिमा दिनप्रतिदिन कमजोर हुँदै गएको भन्दै यसको मुख्य जिम्मेवार सभामुख रहेको आरोप पनि लगाए।
विज्ञप्तिमा उनले प्रतिनिधि सभामा नियम तथा संवैधानिक प्रावधानहरू बारम्बार उल्लंघन भइरहेको दाबी गर्दै संसद नै विधिको शासनविपरीत चलिरहेको टिप्पणी गरेका छन्।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार
















