आज पनि संसद बैठकमा प्लेकार्ड बोकेर उभिए हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले यही जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सदनमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।
आजको बैठक शुरु हुनासाथ समय मागेर उनले सीमाबारेको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका हुन् ।
उनले भने–‘प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसद्को रेकर्डबाट हटाउनुपर्छ । प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो बोली सच्याउनुपर्छ ।’
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरूमा नै प्लेकार्ड देखाएर विरोध गर्दै अध्यक्ष साम्पाङले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्री स्वयं संसदमा आएर माफीमा माग्नुपर्ने माग गरे ।
सदन सञ्चालन भए पनि माग पूरा नभएसम्म आफूहरूले यस विषयमा निरन्तर आवाज उठाउने बताए ।
संसदलाई नियमावली अनुसार चलाउन उनले सभामुखको ध्यानाकर्षण गराए ।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार
















