मन्त्री लम्सालको ठाडो निर्देशन- काम नगरे ठेकेदारको खुट्टा भाँचिदिनुस्
धादिङ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माण कार्यमा अनावश्यक ढिलाइ नगर्न कडा निर्देशन दिएका छन् ।
मन्त्री लम्साल आइतबार नागढुङ्गा-मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनमा गएका थिए। सोही क्रममा काममा ढिलाई नगर्न निर्माण व्यवसायीलाई यस्तो निर्देशन दिएका हुन्।
अनुगमनका क्रममा सडक आयोजना निर्माणको क्रममा बिजुलीको पोल नसारिएकोले अवरोध भएको निर्माण पक्षले गुनासो गरेका थिए। गुनासोपछि मन्त्री लम्सालले बिजुलीको पोल सार्ने कन्ट्रयाक्टरलाई खोजेर ल्याउन भनेका थिए।
त्यसपछि समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै मन्त्री लम्सालले आक्रोशपूर्ण शैलीमा ‘काम नगरे खुट्टा भाँचिदिनु’ भन्ने अभिव्यक्ति समेत दिएका थिए।
‘यो बिजुलीको पोलवाला कन्ट्रयाक्टर कहाँ छ, यो धर्तीमा जहाँ भए पनि यहाँ ल्याएर राख्नुस्। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनुस् मतलब भएन । यहाँका पब्लिकले धेरै दुःख पाए,’ मन्त्री लम्सालले निर्देशन दिँदै भनेका थिए ।
उक्त भनाइ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कतिपयले मन्त्री लम्सालले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आलोचना गरिरहेका छन् ।
केहीले यसलाई विकास निर्माणमा देखिएको सुस्त गतिप्रति मन्त्रीको असन्तुष्टि र कडा चेतावनीका रूपमा लिएका छन् ।
यसअघि पनि मन्त्री लम्सालले नौबिसे-मुग्लिन आयोजनामा काम गरिरहेको निर्माण व्यवसायी शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मालाई सिंहदरबार झिकाएका थिए। निर्माणको क्रममा भएको अवरोधको जानकारी गराउँदै माफी मागेपछि शर्मा छुटेका थिए ।
प्रकाशित मिति: १ असार २०८३, सोमबार
















