अहिलेको बजेटले देश बनाउने कुरामा प्रधानमन्त्रीलाई नै विश्वास छैन, त्यसैले अर्थमन्त्री पर्नुभएन : महर



काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले आफ्नै सरकारले ल्याएको बजेटले देश बनाउने कुरामा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई नै विश्वास नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमाले सांसद महरले प्रधानमन्त्री शाहले देश बनाउने भनेर घोषणा गरेको टिममा अर्थमन्त्री स्वर्णिम वाग्ले नै नपर्नु अहिले आएको बजेटले देश बनिने कुरामा प्रधानमन्त्री नै विश्वस्त नभएको कुराको प्रमाण भएको दावी गरे ।

उनले अर्थमन्त्रीको बजेटमा विश्वास नभएर नै प्रधानमन्त्रीको देश बनाउने टिममा अर्थमन्त्री नपरेको टिप्पणी गरेका छन् । उनले अर्थमन्त्री डा. वाग्लेले बजेटको न्यायोचित वितरण नगरेको समेत सांसद महरले आरोप लगाएका छन् ।

उनले अर्थमन्त्री वाग्लेले पिछडिएका क्षेत्रलाई बिर्सेर आफ्नै र आफ्नै जिल्लामा बजेट खन्याएको आरोप लगाएका छन् । सांसद महरले जहाँ पूर्वाधारको आवश्यकता छ, शहरसँग तिनीहरुलाई जोड्नु पर्नेछ ती दुर्गम जिल्ला बजेटबाट बञ्चित गरिएको भन्दै उनले अर्थमन्त्री वाग्लेले विनियोजन गरेको बजेट विभेदकारी भएको समेत आरोप लगाए ।

उनले शिक्षा, स्वास्थ्य र कृषि जस्ता नागरिकको आधारभूत सेवासँग जोडिएको क्षेत्रलाई अर्थमन्त्रीले बजेटमा समेट्न नसकेको बताएका छन् । सांसद महरले अर्थमन्त्री वाग्लेले आफै पढेको बुढानिलकण्ठमा शिक्षामा १५ करोड बजेट छुट्याएको तर, देशभरका सामुदायिक विद्यालयहरुलाई बिर्सेको बताए ।

उनले बजेटमा सामुदायिक विद्यालयको गुणस्तर सुधारको कुरा कहिँ पनि नभएको तर, कर लगाउने कुरा मात्र भएको बताए ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्