आजदेखि ५०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारदेखि ५०० रुपैयाँका नयाँ नोट चलचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेका यी नयाँ नोटहरू चलनचल्तीमा ल्याइएको हो ।
राष्ट्र बैंकले ती नयाँ नोटको संकेत तथा नम्बरहरु सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रंग पुरानै डिजाइनसँग मिल्दोजुल्दो भए पनि सुरक्षा विशेषता, सिरिज संरचना तथा पहिचान प्रणालीमा महत्वपूर्ण परिमार्जन गरिएको छ ।
हाल जारी गरिएको नोटहरूको संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्म रहेको छ ।
नेपाली नोट प्रणालीअनुसार प्रत्येक अक्षर समूहअन्तर्गत ०००००१ देखि ९९९९९९ सम्म करिब १० लाख थान नोट छापिने व्यवस्था रहेकाले नयाँ सिरिजअन्तर्गत करिब ३० लाख थान नोट बजारमा प्रवेश गरेको राष्ट्र बैंकले जनाएको छ ।
साथै राष्ट्र बैंकले नयाँ नोटमा अत्याधुनिक सुरक्षा विशेषताहरू समावेश गरिएको उल्लेख गर्दै सर्वसाधारणलाई ढुक्क भएर कारोबारमा प्रयोग गर्न आग्रह गरेको छ ।
यसअघि राष्ट्र बैंकले २०७८ पुस ९ गते ५ सय रुपैयाँ दरका ३ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याएको थियो ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार











