रास्वपाको महाधिवेशनलाई हल दिन उद्योग संघले माग्यो सरकारको आधिकारिक पत्र
चितवन। चितवन उद्योग संघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन बन्दसत्रका लागि आफ्नो हल प्रयोग गर्न दिनुअघि सरकारको आधिकारिक पत्रसहितको निर्णय माग गरेको छ ।
संघका अध्यक्ष मदन घिमिरेका अनुसार आज बसेको पदाधिकारी तथा काउन्सिल सदस्यहरूको बैठकले सरकारबाट स्पष्ट निर्देशन नआएसम्म हल उपलब्ध गराउन नसकिने निर्णय गरेको हो ।
संघले भोगाधिकारसहित सञ्चालन अनुमति पाएकोले औद्योगिक प्रदर्शनी र विपद् व्यवस्थापन बाहेक अन्य प्रयोजनमा हल प्रयोग गर्न नपाइने मन्त्रिपरिषद्को निर्णय रहेको जनाएको छ ।
रास्वपाले आगामी असार ७ देखि ९ गते चितवनमा हुने महाधिवेशनको बन्दसत्रका लागि उक्त हल प्रयोग गर्न अनुमति मागेको थियो । उद्योग मन्त्रालयले भने एकपटकका लागि हल प्रयोग गर्न दिन अनुरोध गरेको पत्र पठाएको छ ।
तर संघले उक्त अनुरोध मात्र पर्याप्त नभएको भन्दै कुन निकायबाट निर्णय संशोधन वा विशेष निर्देशन आएको हो भन्ने स्पष्ट पत्र नआएसम्म अनुमति नदिने जनाएको छ।
यसअघि पनि विभिन्न राजनीतिक पार्टीहरुले विभिन्न कार्यक्रम गर्न हल माग गरेको तर संघले राजनीतिक प्रकृतिका कार्यक्रम स्वीकृत दिएको थिएन ।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार











