अमेरिका–इरान वार्तामा प्रगतिः ६० दिनभित्र अन्तिम सम्झौताको मार्गचित्र तयार
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले स्विट्जरल्याण्डको बुर्जेनस्टोकमा सम्पन्न अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ता सकारात्मक रहेको बताउनुभएको छ । इस्लामावाद समझदारी पत्रअन्तर्गत आयोजित उक्त पहिलो चरणको वार्ता सफल भएको र आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी एक मार्गचित्र/रोडम्यापमा सहमति जुटेको उहाँले जानकारी दिनुभयो ।
सोमवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सरिफले वार्ता रचनात्मक वातावरणमा सम्पन्न भएको र यसले उत्साहजनक प्रगति हासिल गरेको उल्लेख गर्नुभयो । वार्ताका क्रममा राजनीतिक निगरानीका लागि एक उच्चस्तरीय समिति गठन गर्ने र थप प्राविधिक तहको वार्ताहरू अगाडि बढाउने निर्णय समेत भएको छ ।
प्रधानमन्त्री सरिफले कुटनीतिक संलग्नताप्रति निरन्तर प्रतिवद्धता जनाएको भन्दै संयुक्त राज्य अमेरिका र इरानको नेतृत्वको प्रशंसा गर्नुभयो । उहाँले यस विकासलाई कूटनीतिक प्रक्रियाको एक महत्वपूर्ण कदमको रूपमा चित्रण गर्नुभएको छ ।
यसैगरी, वार्ताका लागि उपयुक्त वातावरण निर्माण गर्न सहयोग पु¥याउने मित्र राष्ट्रहरू र छलफलको सहजीकरण गरिदिएकोमा स्विट्जरल्याण्ड सरकारप्रति उहाँले आभार व्यक्त गर्नुभयो। प्रधानमन्त्री सरिफले पाकिस्तानी सेना प्रमुख सैयद असिम मुनिरको विशेष चर्चा गर्दै वार्तालाई अगाडि बढाउन उहाँको समर्पण र दृढताले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।
पाकिस्तानले भविष्यमा पनि शान्तिपूर्ण र दिगो समाधानका लागि संवाद र कुटनीतिलाई प्रवद्र्धन गर्न निष्पक्ष र इमानदार भुमिका निर्वाह गरिरहने प्रतिवद्धता सरिफले व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार












