अश्लील हर्कत गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लियो
विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा अश्लील हर्कत गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । दाहसंस्कार गरिने पवित्र सार्वजनिक स्थलमा अभद्र व्यवहार देखाएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति करिब १२ः३० बजेको समयमा घाटमा केही व्यक्तिहरू भेला भई हो–हल्ला गरिरहेको र तीमध्ये दुई जना पुरुष निर्वस्त्र अवस्थामा रहेको सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा तत्काल खटिएको प्रहरी टोलीले उनीहरूलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा मोरङका सुरेन्द्र मणि मण्डल, सुनसरीका कैलाश ढुङ्गाना, भोजपुरका मनिष काफ्ले र मोरङका छविलाल घिमिरे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: १० असार २०८३, बुधबार












