जनता खुसी हुनेगरी सेवा दिन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
चितवन, ९ असार । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले लोकतन्त्रमा जनता केन्द्रमा हुने भएकाले जनता खुसी हुनेगरी काम गर्नुपर्ने बताएका छन् ।
जिल्ला हुलाक कार्यालय चितवनको निरीक्षणपछि कर्मचारीहरूलाई निर्देशन दिँदै उनले जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्ने बताएका छन् ।
“जनता खुसी भए मात्र विश्वास बढ्छ, जनताको विश्वास बढेपछि मात्रै तपाईंको कामको महत्त्व बढ्छ,” मन्त्री तिमिल्सिनाले भने ।
उनले संस्था बलियो नभए त्यहाँ कार्यरत कर्मचारीको रोजगारीसमेत सुरक्षित नहुने बताएका छन् । “यो संस्थामा काम गर्ने हरेक कर्मचारीको हकहित सुरक्षित हुनुपर्छ,” उनले भने, “हामीले लोकतन्त्र भन्यौँ तर संस्थालाई कमजोर बनायौँ । त्यसले गर्दा इतिहास मात्रै राम्रो भयो, वर्तमान बर्बाद भयो । यस्तै अनियमितता गर्ने हो भने भविष्य कसरी सुरक्षित हुन्छ ?”
कर्मचारीहरूलाई सेवाग्राहीप्रति उत्तरदायी बन्न आग्रह गर्दै मन्त्री तिमिल्सिनाले आफू कसका लागि काम गरिरहेको छु भन्ने कुरा सधैँ सम्झिनुपर्ने बताएका छन् ।
हुलाक इतिहास बोकेको संस्था भए पनि त्यसअनुसारको अवस्था नरहेको उल्लेख गर्दै उनले विकसित मुलुकहरूमा अझै पनि हुलाक सेवाको महत्त्व कायम रहेको बताएका छन् ।
“अझै हुलाक महत्त्वपूर्ण छ भन्ने कुरा विकसित देशमा देख्न सकिन्छ,” उनले भने, “हुलाकमा काम गर्छु भनेर गर्व गर्न सक्ने वातावरण बनाउनुपर्छ ।”
चिठ्ठी तथा पार्सल सुरक्षित र समयमा गन्तव्यमा पुग्नुपर्नेमा जोड दिँदै उनले समयको महत्त्व बुझेर सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।
“सामान जेसुकै भए पनि सुरक्षित र समयमा पुग्नुपर्छ,” उनले भने, “पहिले १० दिन ढिलो हुँदा पनि गुनासो हुँदैनथ्यो, अहिले एक दिन ढिलो हुँदा पनि गुनासो हुन्छ । त्यसैले समयको गति बुझ्नुपर्छ ।”
मन्त्री तिमिल्सिनाले सेवाग्राहीलाई मुस्कानसहित सेवा दिन सुझाव दिँदै निवृत्तिपछि ‘म हुलाक कर्मचारी थिएँ’ भनेर गर्व गर्न सक्ने अवस्था बनाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख शालिकराम बस्यालले कार्यालयको प्रगति तथा समस्याबारे जानकारी गराएका छन् ।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार












