विश्वकपमा चम्किरहेको बेला मेस्सीको जन्मदिन, ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’



काठमाडौं । विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेस्सी ३९ वर्षमा प्रवेश गरेका छन् ।
विश्वकप २०२६ को सरगर्मीका बीच उनको जन्मदिन परेको हो ।

अर्जेन्टिनी फुटबल संघले सामाजिक सञ्जालमा ‘‘#SaludoAlbiceleste’’ ह्यासट्याग प्रयोग गर्दै आफ्ना ऐतिहासिक कप्तानलाई जन्मदिनको शुभकामना दिएको छ ।

अर्जेन्टिनी टोलीले मेसीको जन्मदिन मनाउँदै लेखेको छ–‘लियोनेल मेस्सीलाई ३९ वर्षको हार्दिक शुभकामनाः विश्व फुटबलको इतिहास बदल्ने मानिस । जन्मदिनको शुभकामना, कप्तान !”

सन् २०२२ मा कतार विश्वकपको उपाधि दिलाएर अर्जेन्टिनाको ३६ वर्ष लामो प्रतीक्षा समाप्त पारेका मेसी हाल अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा टोलीको नेतृत्व गरिरहेका छन् ।

उनको कप्तानीमा अर्जेन्टिनाले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो चरण (अन्तिम ३२) मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । आठ पटकका ब्यालोन डी’ओर विजेता मेस्सीको जन्मदिनको अवसरमा विश्वभरका लाखौं प्रशंसक र फुटबल जगतका हस्तीहरूले उनलाई शुभकामना दिइरहेका छन् ।

उनले यो विश्वकपका दुई खेलमा पाँच गोल गरिसकेका छन् । उनले विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले विश्वकपमा १८ गोल गरेका छन्।

यो विश्वकपमा दुई खेल खेलेका उनले पहिलो खेलमा ह्याट्रिक हानेका थिए भने दोस्रो खेलमा दुई गोल हानेका छन् ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्