यी हुन् रास्वपाका पदाधिकारीका आकांक्षी



काठमाडौं।विगत चार दिनदेखि चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यका लागि आज बिहानदेखि मतदान सुरु हुँदैछ। बुधबार बिहान ८ बजेदेखि मतदान गर्न लागिएको हो।

त्यसका लागि गएराति नै केन्द्रीय सदस्यका आकांक्षीले मनोनयन दर्ता गराएका छन्। यतिबेला सबै उम्मेदवार आफ्नो पक्षमा भोट माग्न व्यसस्त छन्।

केन्द्रीय सदस्य र पदाधिकारीको मतदानमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) सँगै मोबाइल एप प्रयोग गर्ने तयारी रास्वपाले गरेको छ।

रास्वपाको महाधिवेशनमा दुई चरणमा निर्वाचन गर्ने पार्टी विधानमा व्यवस्था छ। विधानअनुसार पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ। दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुने व्यवस्था विधानमा छ।

केन्द्रीय सदस्यमा निर्वाचित हुने नेता मात्रै पदाधिकारीको उम्मेदवार बन्न पाउनेछन्।

रास्वपाले यसपटक विधान संशोधन गरेर पदाधिकारीको संख्या १९ पुर्‍याइएको छ। यसअघि रास्वपामा पदाधिकारी संख्या १२ थियो ।

यो महाधिवेशनपछि रास्वापमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (१ महिला र १ मनोनीत), महामन्त्री २ (१ मनोनीत), सहमहामन्त्री ५ (१ महिला, २ मनोनीत), प्रवक्ता १, सहप्रवक्ता ३ (१ महिला), कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ (१ महिला) हुने छन्।

रास्वपाको सभापतिमा रवि लामिछाने गएराति नै निर्विरोध निर्वाचित भइसकेका छन्।

वरिष्ठ नेतामा वालेन्द्र शाह चुनिने पक्का जस्तै छ। खुला उपसभापतिमा स्वर्णिम वाग्लेको मात्रै उम्मेदवारी पर्ने नेताहरूले बताएका छन्। महिला उपसभापतिमा भने सोविता गौतम, लिमा अधिकारी, प्रतिभा रावललगायतको उम्मेदवारी पर्न सक्ने सम्भावना छ।

रास्वपाको खुला महामन्त्रीमा मनीष झा, विपिन आचार्य, कवीन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाललगायतका नेताहरूले दाबी गरेका छन्।

तोसिमा कार्कीले महिला उपसभापति वा महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेकी छन्। सहमहामन्त्रीमा दीपक बोहरा, अशोक चौधरी, क्रान्तिशिखा धिताल, निशा डाँगी, निशा मेहतालगायतको नाम चर्चामा छ।

पहिला केन्द्रीय सदस्यमा निर्वाचित भएपछि मात्रै पदाधिकारीका आकांक्षीले उम्मेदवारी दिन पाउने छन्।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्