निको कप महिला टी–२० : लुम्बिनी, एपीएफ र बागमती विजयी



जनकपुरधाम, ९ असार । जनकपुरधाममा जारी निको कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न तीन खेलमा लुम्बिनी प्रदेश, नेपाल एपीएफ क्लब र बागमती प्रदेश विजयी भएका छन् ।

मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा सात विकेट गुमाएर ८५ रन बनाएको थियो । कर्णालीका लागि त्रिसना विश्वकर्माले १२, गङ्गा खड्काले १४ र अञ्जु गुरुङले १३ रन बनाएका थिए । लुम्बिनीका तर्फबाट मनीषा रानाले तीन, सुस्मिता भुसालले दुई र अञ्जु पाठकले एक विकेट लिएकी थिइन् ।

८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १५ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । लुम्बिनीका लागि रञ्जु श्रेष्ठले २३ तथा आसमा पुलामी मगरले २८ रनको योगदान दिएकी थिइन् । कर्णालीका तर्फबाट गङ्गा खड्काले दुई तथा त्रिसना विश्वकर्माले एक विकेट लिएकी थिइन् ।

दोस्रो खेलमा एपीएफले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ । गण्डकीले २० ओभरमा आठ विकेट गुमाएर ६४ रन बनाएको थियो । रेखा तामाङ र सीमा केसीले समान १०–१० रन बनाएका थिए ।

एपीएफका लागि सवनम राय र राजमती ऐरीले समान दुई–दुई विकेट लिएकी थिइन् भने सविना जोरी र रेवती धामीले एक–एक विकेट लिएकी थिइन् ।

६५ रनको लक्ष्य पछ्याएको एपीएफले १३.२ ओभरमा तीन विकेट गुमाएर ७० रन बनाउँदै जित निकालेको थियो । एपीएफका लागि रमा धामीले २५ तथा कविता जोशीले २० रन बनाएकी थिइन् । गण्डकीका तर्फबाट यशोदा भुजेल र सीमा केसीले समान एक–एक विकेट लिएकी थिइन् ।

आजै भएको तेस्रो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ रनले पराजित गरेको छ । बागमतीले दिएको ९५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १९.३ ओभरमा अलआउट हुँदै ८९ रनमा समेटिएको थियो । बागमतीले ६ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्