पत्रकार विनोद ढकालको पक्राउप्रति पत्रकार महासंघको गम्भीर आपत्ति



काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर अपराध मुद्दामा पक्राउ गरको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

क्यानडा नेपाल डट कममा कार्यरत पत्रकार तथा महासंघ काठमाडौं शाखाका सदस्य ढकालले नेपाल प्रहरीका महानिरीक्षक ९आईजीपी० दानबहादुर कार्की, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललगायत व्यक्तिविरुद्ध आफ्नो फेसबुक खातामार्फत विभिन्न टिप्पणी तथा सामग्री प्रकाशित गरेका थिए ।

त्यसपछि उनीविरुद्ध इलाका प्रहरी कार्यालय, इटहरी, सुनसरीमा दर्ता भएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

सोही जाहेरीअनुसार सुनसरी जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी कार्यान्वयन गर्दै उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले साइबर अपराधको मुद्दामा अनुसन्धानका लागि ढकाललाई काठमाडौंबाट पक्राउ गरेको थियो ।

त्यसैलाई लिएर शुक्रबार जारी प्रेस विज्ञप्तिमा समितिले पत्रकारले लेखेको समाचार तथा त्यससँग सम्बन्धित विषयमा सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरिएको सामग्रीलाई आधार बनाएर साइबर अपराध मुद्दा लगाइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएको भन्दै आपत्ति जनाएको हो ।

साइबर क्राइम मुद्दामा पक्राउ परेको व्यक्तिको घर–कोठा खानतलासी लिने जस्ता कार्यप्रति महासंघ, उपत्यका प्रदेशले आपत्ति जनाएको छ ।

‘यो पत्रकारिता क्षेत्रलाई नै आतंकित पारेर शासकहरु स्वेच्छाचारी हुन चाहेको घटनाका रूपमा हामीले लिएका छौँ’, विज्ञप्तिमा भनिएको छ ।

समितिले पत्रकार ढकाललाई तत्काल रिहा गर्न माग गर्दै पत्रकारिता पेशामाथि आकर्षित हुने कानुनका विषयमा सरकारसँग स्पष्ट धारणा सार्वजनिक गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्