फिफा विश्वकप २०२६ : साविक विजेता अर्जेन्टिना अपराजित रहदै नकआउटमा, मेस्सीको कीर्तिमानी गोल



काठमाडौँ। साविक विजेता फिफा विश्वकप २०२६ मा अपराजित बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

यसअघि अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अष्ट्रियालाई २–० ले पराजित गरेको थियो ।

जोर्डनविरुद्ध कप्तान लियोनल मेसी, जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेजले एकएक गोल गरे । जोर्डनका मुसा अल–तमारीले सान्त्वना गोल गरे । खेलको १९औं मिनेटमा जियोभानीले फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । ३१औं मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

खेलको ५५औं मिनेटमा जोर्डनका अल–तमारीले गोल गर्दै खेलमा फर्किने प्रयास गरे । तर, दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान मेस्सीले ८०औं मिनेटमा गोल गर्दै अल–तमारीको प्रयासलाई विफल बनाए । यो गोलसँगै मेस्सीको विश्वकपमा रेकर्ड १९ गोल पुगेको छ । मेस्सी यो विश्वकपका सर्वाधिक गोलकर्ता हुन्।

समूह ‘जे’ मा अर्जेन्टिनाले ३ खेलबाट ९ अंक जोडे । समान ४ अंक जोडेका अल्जेरिया र अष्ट्रिया दोस्रो र तेस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरे । जोर्डन अंकविहीन बन्न पुग्यो ।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्