गृहमन्त्री चढ्ने गाडीको कालो सिसा पनि हटाइने
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नै गाडीबाट सुरु गर्दै सबै सवारीका कालो सिसा हटाउने अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।
सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर गृहमन्त्री गुरुङले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन निर्देशन दिँदै आफ्नो गाडीको सिसा पनि हटाउन भनेका हुन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अधिकृतहरूलाई निर्देशन दिँदै गुरुङले भने- ‘मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाउनुस् ।’
उनको निर्देशनपछि ट्राफिक प्रहरीले गृहमन्त्रीले प्रयोग गर्दै आएको गाडीको कालो सिसा पनि हटाउने भएको छ ।
यसअघि गृहमन्त्री लगायत विभिन्न मन्त्रीहरुले चढ्ने गाडीमा कालो सिसा राख्ने प्रचलन थियो । यद्यपी गुरुङ धेरैजसो आफ्नै गाडीमा यात्रा गर्दै आएका छन् ।
ट्राफिक प्रहरीले असार १४ गतेदेखि काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनमा टाँसिएका कालो स्टिकर हटाउने अभियान सुरु गरेको छ। पहिलो चरणमा सिसामा टाँसिएका काला स्टिकर हटाउने काम भइरहेको छ।
यसैगरी कम्पनीबाट कालो सिसा जडान भएका गाडीहरूको सिसा परिवर्तन गर्नेबारे ट्राफिक प्रहरीले गाडी बिक्रेता कम्पनीहरूसँग छलफल गरिरहेको छ ।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार












