प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्य मनोनित



काठमाडौं। सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन सदस्य मनोनीत गरेको छ।

संस्थाकी अध्यक्षसमेत रहेकी कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कोषको ऐनमा भएको प्रावधानअनुसार अन्तर्राष्ट्रिय विशेषज्ञ व्यक्तित्वहरू मध्येबाट तीनजनालाई मनोनयन गरेकी हुन्।

मनोनीत हुनेमा बेलायतका हाउस अफ लर्डका लर्ड क्यामोस विलियम स्टोनर, विश्वविख्यात संरक्षणकर्मी एवं वन्यजन्तु विज्ञ डा. एरिक डाइनर्स्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइट रहेका छन् ।
लर्ड क्यामोस ‘यूके नेपाल ट्रस्ट’ का अध्यक्ष हुन् र उनले लामो समयदेखि नेपालको जैविक विविधता संरक्षणमा योगदान पुर्‍याउँदै आएका छन् ।

डा. डाइनरस्टाइनले सन् १९७० र ८० को दशकमा चितवनमा गैंडा तथा बाघको अनुसन्धान गर्नुका साथै ‘तराई आर्क ल्यान्डस्केप’ को अवधारणा बनाउन मुख्य भूमिका खेलेका थिए ।

त्यस्तै, अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी डिन रहेकी प्रा।डा। विन्डी राइटले विगत एक दशकदेखि नेपालमा सालक संरक्षण, मध्यवर्ती क्षेत्र व्यवस्थापन तथा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा अस्ट्रेलियन विद्यार्थीलाई समेटेर निरन्तर स्थलगत प्राज्ञिक सहकार्य गर्दै आएकी छन्।

कोषको इतिहास र गरिमालाई मध्यनजर गर्दै वैज्ञानिक संरक्षणलाई थप गति दिन उनीहरूलाई मनोनीत गरिएको मन्त्री चौधरीले बताइन्।

प्रधानमन्त्री बालेन्द्र शाहले पर्यावरण मन्त्री चौधरीलाई नै कोषको अध्यक्षको जिम्मेवारी दिएपछि मन्त्री चौधरीले कोषको ऐतिहासिक गरिमालाई उकास्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

साथै विश्वविख्यात वैज्ञानिक, प्राज्ञिक, व्यवसायिक, युवा र कूटनीतिक व्यक्तित्वहरूलाई कोषको सदस्यमा मनोनित गरेर नेपालको संरक्षण अभ्यासलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग जोड्न नयाँ गति प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्