राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौँमा आयोजित ‘सङ्घीयता कार्यान्वयनमा प्रदेश संरचना: समसामयिक संवाद’ कार्यक्रममा बोल्दै उनले अहिले राज्य सञ्चालन संविधान बमोजिम चल्न नसकेको टिप्पणी गरे।
नेता सिटौलाले देशको प्रशासन, न्यायालय, प्रहरी र अन्य संवैधानिक निकायहरूले आफ्नो स्वतन्त्रता गुमाइसकेको दाबी गर्दै अहिले देश वास्तवमा कसको नियन्त्रणमा छ भन्न समेत गाह्रो रहेको बताए। नेपालमा पछिल्लो समय प्रतिशोधको राजनीति धेरै नै विकसित भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले यस्तो अवस्थाले देश र समाज बन्न नसक्ने उल्लेख गरे।
विश्व राजनीतिको प्रभाव नेपालमा पनि परिरहेको र त्यसको नराम्रो प्रभाव ज्यादा देखिएको उनको धारणा छ। राजनीतिक दलभित्र र विभिन्न राजनीतिक दलहरूको बिचमा अविश्वास दिनप्रतिदिन अझै गहिरिँदै गएको चर्चा गर्दै सिटौलाले दलहरू एक ठाउँमा बसेर देशका बारेमा सोच्ने परिस्थिति नै नरहेको जिकिर गरे।
यसैगरी, संविधान संशोधनका विषयमा बोल्दै नेता सिटौलाले संविधान भनेको कुनै धार्मिक ग्रन्थ नभएकाले संविधानवादको विकास क्रममा यसको संशोधन हुनुपर्नेमा जोड दिए। तर संविधान संशोधन गर्दा यसका मौलिक पक्षहरूलाई जोगाउँदै कार्यान्वयनका क्रममा देखिएका त्रुटिहरूलाई मात्र सच्याउनुपर्ने उनको भनाइ छ।
अहिलेको राज्य व्यवस्थालाई साँगुरो घेराभित्र राख्ने कि जनताको पहुँच हुने गरी फराकिलो पार्ने भन्ने मुख्य प्रश्न खडा भएको भन्दै उनले सङ्घीयताका राम्रा पक्षलाई बचाएर र कमजोरीलाई हटाएर नै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार












