सुर्खेतमा लाखौँ मूल्यका अवैध सामान बरामद
सुर्खेत । कर्णाली प्रदेश भित्रिने मुख्य प्रवेशद्वार बबई नाकामा पछिल्लो समय प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।
लागुऔषध, अवैध कपडालगायत अन्य सामान भित्रिने आशङ्कामा बबई नाकामा निगरानी बढाइएको प्रहरीले जनाएको छ । यही क्रममा गएराति प्रहरीले लाखौँ मूल्यका अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक हवल्दार जीवन कुमालको कमाण्डमा खटिएको टोली र अस्थायी प्रहरी पोस्ट बबईको संयुक्त टोलीले चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो ।
ती सामान नेपालगञ्जबाट ना४ ख ३४६० नम्बरको बसमा जुम्लातर्फ लैजाँदै गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहोराले बताए ।
उनका अनुसार चेकजाँचका क्रममा बिल–भरपाई नभएका मोबाइल ग्लास २० प्याकेट, मोबाइल डिस्प्ले एक प्याकेट, लाभा कम्पनीका १५ थान किप्याड मोबाइल, बेनो कम्पनीका पाँच थान टच मोबाइल नियन्त्रणमा लिइएको छ ।
त्यस्तै, वववववववववको एक थान टच मोबाइल, रियलमी कम्पनीको एक थान टच मोबाइल तथा मोटरसाइकल प्याड लिक्विड एक पेटी पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार












