नागढुंगा सुरुङमार्ग साउनदेखि सञ्चालन गरिँदै
काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा आउने भएको छ ।
सुरुङमार्ग सञ्चालनमा ल्याउनुअघि आवश्यक प्राविधिक तयारी पनि सफलतापूर्वक सम्पन्न गरिएको छ ।
परीक्षणका क्रममा सुरुङभित्र नियमित निरीक्षण, मर्मतसम्भार, सरसफाइ, आपत्कालीन उद्धार तथा दुर्घटना व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन र उपकरणको कार्यसम्पादन जाँच गरिएको हो । सुरुङ सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेसन, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, सञ्चार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षणसमेत भइरहेको छ ।
सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनको जिम्मा ५ वर्षका लागि चिनियाँ संलग्न कम्पनी युसिन(एआरटी जेभीले जिम्मा पाएको छ ।
२०७६ कात्तिक ४ गतेदेखि निर्माण सुरु भएको यो सुरुङ २०८० वैशाख १३ गते सक्ने गरी जापान सरकारको सहुलियत ऋण सहयोगमा जापानी कम्पनी हाजमा-आन्दो जेभीले निर्माणको जिम्मा पाएको थियो ।
तर, कोभिड १९ को कारण देखाई २०८० साउन ४ गतेसम्मका लागि पहिलो पटक म्याद थप भएको थियो । तर उक्त अवधिमा पनि सम्पन्न हुन नसकेपछि पुनः स्थानीयको विवाद लगायतका कारण निर्माणमा ढिला भएको कारण देखाइ म्याद थपेर २०८१ वैशाख १३ सम्म पुर्याइएको थियो । यस म्यादमा पनि निर्माण सम्पन्न हुन सकेन यसपछि तेस्रो पटक पुनः म्याद थपेर २०८२ कात्तिक ८ गतेसम्म पुर्याइएको थियो ।
यस अवधिमा सुरुङ निर्माण सकिसकेको थियो । तर धादिङतर्फको सडकमा गएको पहिरो र अन्य प्राविधिक काम बाँकी रहेको भन्दै चौथो पटक म्याद थपेर २०८३ वैशाख १२ सम्म पुर्याइयो थियो।
आयोजनाको सुरुवाती लागत २२ अर्ब रुपैयाँ अनुमान गरिएको भए पनि पटक पटक म्याद थप हुँदा करिब २९ अर्ब पुग्ने देखिएको छ ।
यसअघि सुरुङमार्ग सञ्चालन २०८२ माघमा गर्ने लक्ष्य राखिएको भए पनि फेरि सरेर साउनमा पुर्याइएको हो ।
मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनिक गरिसकेको छ ।
जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ ।
मिनी बस, मिनी टिपररट्रकको प्रवेशका लागि ११५ र बाहिरिँदा ८० रुपैयाँ लाग्नेछ । बस, ट्रक (सिंगल रियर एक्सल) प्रतिसवारीसाधन प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तोकिएको छ । मल्टी एक्सल ट्रकरसवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ तोकिएको छ।
नेपालको महत्वपूर्ण पूर्वाधार परियोजनामध्ये एक मानिने नागढुंगा सुरुङमार्गबाट दीर्घकालीन रूपमा नेपाली जनताले लाभ प्राप्त गर्ने विश्वास गरिएको छ ।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार












