एम्पायर स्टेट बिल्डिङको चुचुरोमा विवाह प्रस्ताव गर्ने रुसी जोडी पक्राउ
न्यूयोर्क । अमेरिकाको प्रतिष्ठित एम्पायर स्टेट बिल्डिङको चुचुरोमा चढेर विवाह प्रस्ताव गर्ने साहसिक प्रदर्शन गरेका एक रुसी जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार न्यूज हेलिकोप्टरले खिचेको भिडियोमा कालो पोसाक लगाएका दुई जना भवनको मुख्य एन्टेनाको टुप्पोमा उभिएको र एकअर्कालाई चुम्बन गरेको देखिन्छ । उनीहरूले करिब ४४३ मिटर (१,४५४ फिट) उचाइमा ‘जब प्रेमको शक्ति सत्ताको मोहभन्दा बलियो हुन्छ, तब संसारले शान्ति चिन्छ’ भन्ने सन्देश लेखिएको ब्यानर पनि प्रदर्शन गरेका थिए ।
१०२ तले उक्त भवनको सार्वजनिक पहुँचभन्दा निकै माथि रहेको एन्टेनासम्म उनीहरू कसरी पुगे भन्नेबारे अधिकारीहरूले कुनै जानकारी दिएका छैनन् । घटनापछि सार्वजनिक गरिएको प्रहरीको बडी क्यामेरा भिडियोमा एक प्रहरी अधिकारी भर्याङ चढ्दै उनीहरूलाई तल झार्न गएको देखिन्छ । अधिकारीले यहाँ बस्न मिल्दैन भन्दै जोडीलाई नियन्त्रणमा लिएका थिए ।
पक्राउ परेका व्यक्तिहरूको पहिचान भान्या बिर्कुस र एन्जेला निकोलाउका रूपमा भएको छ । उनीहरू सन् २०२४ मा नेटफ्लिक्सको वृत्तचित्र ‘स्काइवाकर्सः अ लभ स्टोरी’ मा देखिएका थिए । उक्त वृत्तचित्रमा उनीहरूको ‘रुफटपिङ’ अर्थात् अग्ला भवनमा चढ्ने साहसिक गतिविधिप्रतिको रुचिलाई प्रस्तुत गरिएको छ ।
एन्जेलाका पिता तथा रुसी सर्कस कलाकार दिमित्री निकोलाउले छोरीको यो गतिविधिप्रति आफू चिन्तित नरहेको प्रतिक्रिया दिएका छन् । उनले भवनको छतमा चढ्नु सामान्य कुरा भएको टिप्पणी गरेका छन् ।
एम्पायर स्टेट बिल्डिङका प्रवक्ताले भने घटनालाई अनधिकृत प्रवेश भन्दै सुरक्षा नियमको उल्लङ्घन भनेका छन् ।साथै, विवाह प्रस्ताव गर्न चाहनेहरूका लागि भवनमा एक हजार अमेरिकी डलर शुल्क तिरेर उपलब्ध हुने ‘ह्यापिली एभर एम्पायर प्रपोजल प्याकेज’ प्रयोग गर्न सकिने उल्लेख गर्दै यस्तो जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार












