बर्दियामा भूमिहीन परिवारले पाए लालपुर्जा



सन्दिप कुमार बैश्य
बर्दिया । सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले बर्दियाबाट भूमिहीन परिवारलाई लालपुर्जा वितरण सुरु गरिएको बताएकी हुन्।

मन्त्री प्रतिभा रावलका अनुसार दीर्घकालीन रूपमा रहेको समाधान गर्ने पहलस्वरुप २९ भूमिहीन परिवारलाई जग्गा वितरण गरिएको छ ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। यससँगै अब स्थानीयले बैंकिङ सेवा, ऋण सुविधा तथा अन्य सरकारी सेवा समेत सहज रूपमा लिन सक्नेछन्।

बर्दियापछि अब तनहुँ, बाँके, झापा र मकवानपुर लगायत जिल्लामा जग्गा वितरण गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालय स्रोतका अनुसार हालसम्म २ लाख बढी सुकुम्बासीको लगत संकलन भइसकेको छ ।

मन्त्री रावलले बर्दियाबाट सुरु भएको लालपुर्जा वितरणलाई क्रमशः देशभर विस्तार गर्दै वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाइने प्रतिबद्धता जनाएकी छन्।

सरकारले गत जेठ १९ गते उच्च अदालतका पूर्वन्यायाधीश बलभद्र बाँस्तोलाको नेतृत्वमा समिति गठन गरेको गरेको थियो । हाल उक्त समितिले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अर्को उपसमिति गठन गरेको छ ।

यसअघिको भूमि आयोगको तथ्यांकअनुसार देशभर १२ लाख ९ हजार ५८५ सुकुम्वासी छन्  । तर, बितेका ३० वर्षमा १२ लाख निवेदन प्राप्त भए पनि अहिलेसम्म ९ हजारले मात्र लालपुर्जा पाएका छन् ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्