‘साउन्ड सिस्टम’ बिग्रिँदा राष्ट्रियसभा बैठक स्थगित
काठमाण्डौ । ‘साउन्ड सिस्टम’मा समस्या देखिएपछि राष्ट्रियसभाको बैठक केही बेरका लागि स्थगित गरिएको छ।
संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार बैठक सञ्चालनका क्रममा साउन्ड सिस्टममा समस्या देखिएपछि बैठक स्थगित गरिएको हो।
बैठक सुरु भएको करिब १७ मिनेटपछि सभाको प्रत्यक्ष प्रसारणमा अडियो नआएको थियो। अडियो नआउँदा बैठकको रेकर्डिङमा समेत समस्या देखिएको भन्दै बैठक स्थगित गरिएको हो ।
प्राविधिक समस्या समाधान भएलगत्तै बैठक पुनः सुरु हुनेछ।आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरु सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।
विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमध्ये विभिन्न मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि समूहकृत रुपमा छलफल हुनेछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
यसैगरी, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा पनि छलफल कार्यसूची छ ।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार












